मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यपालिका बैठक बोलाउन माग राख्दै उपमेयरको नेतृत्वमा बालेनलाई पत्र

कार्यपालिका बैठक बोलाउन माग राख्दै उपमेयरको नेतृत्वमा बालेनलाई पत्र

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गर्दै मेयर बालेन्द्र शाह बालेनलाई पत्र बुझाएका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले मेयर शाहलाई पत्र लेख्दै चाँडो कार्यपालिका बैठक बोलाउन आग्रह गरेका हुन् ।

महानगरको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ (१) अनुसार कार्यपालिका बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था छ ।

कार्यपालिका सदस्य नवीन मानन्धरले बैठक बस्न नसक्दा विकास निर्माण, नीतिगत निर्णयजस्ता महत्वपूर्ण विषयहरू अन्योलमा परेकोले बैठक राख्न माग गर्दै पत्र लेखिएको बताए । ‘असार १५ भित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ,’ उनले भने, ‘तर बैठक नबसी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका प्राथमिकतामाथि छलफल हुन सकेको छैन ।’

पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै सदस्यहरू मेयर बालेनसँग असन्तुष्ट छन् । जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे उनीहरूले सामाजिक सञ्जालको स्टाटस हेरेपछि मात्रै मेयरबारे जानकारी हुने गरेको भन्दै कटाक्ष पनि गरेका छन् ।