मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा संवादः शहरीकरणको प्रमुख समस्या वायु प्रदूषण

सगरमाथा संवादः शहरीकरणको प्रमुख समस्या वायु प्रदूषण

न्यूजस्टोरी

काठमाडौं, ३ जेष्ठ । सरोकारवालाहरुले पछिल्लो समय बढ्दै गइरहेको शहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । हिजोदेखि शुरु भएको सगरमाथा संवादको आज दोस्रो दिन ‘दिगो शहरहरु र समुदायहरु’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायु प्रदूषण शहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको भन्दै चिन्ता जनाउनुभएको हो ।

सत्रका वक्ताहरुले जलवायुजन्य विपद्का कारण शहरहरु असुरक्षित रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गत असोजमा भएको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिनुभयो । शहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ शहर विकास गर्दा विपदमैत्री शहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा। बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा शहरहरुले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताउनुभयो । शहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले शहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपदमैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिनुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सत्रको सहजीकरण गर्नुभएको थियो ।