मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘निर्माण व्यवसायी पैसै पाएको छैन भन्ने अनि सरकार दिइसके भन्ने, कहाँ गयो पैसा ?’

‘निर्माण व्यवसायी पैसै पाएको छैन भन्ने अनि सरकार दिइसके भन्ने, कहाँ गयो पैसा ?’

न्यूजस्टोरी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डिकबहादुर लिम्बूले निर्माण व्यवसायीहरूले पैसा नपाएको भनेर गुनासो गर्ने गरेको भन्दै त्यसको समाधान नीति तथा कार्यक्रममै आउनुपर्ने बताएका छन् । आज (मंगलबार) को संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘व्यवसायीहरूसँग कुरा गर्दा पैसा नै पाएको छैन भन्ने कुरा भो । अनि सरकारलाई सोध्यो पैसा १५-२० प्रतिशत मात्रै बाँकी छ, सबै लगिसक्यो भन्छ । कहाँ गयो पैसा ? व्यवसायी साथीहरूले पैसा नै नपाएको गुनासो गर्ने अनि सरकारले दिइसकेको भन्ने कुरा गर्ने, कहाँ के भयो ? कहाँ मिलिरहेको छैन त ? यस्ता विषयहरूलाई पनि कडाइका साथ नियमन गर्ने नीति तथा कार्यक्रम आउनु पर्छ,’ उनले भने ।

उनले संसदभित्र सांसद या मन्त्री र बाहिरी निर्माण व्यवसायीका रूपमा धेरै नेताहरू रहेको उल्लेख गर्दै उनीहरूले नै गडबढ गरेको आशंका व्यक्त गरेका छन् । ‘योजनाहरू अलपत्र छन् । योजना खारेज गर्ने भनिएको छ, धुले बाटो छ, हिले बाटो छ, खाँडल–खाँडल छ । यसको व्यवस्थापन गर्नको निमित्त ठेक्का पनि लागेको छ । तर, ठेकदारले, निर्माण व्यवसायी साथीहरूले राम्रो काम नगरेको कुरामा सरकारले गम्भीरतापूर्वक सोच्नु पर्दछ र नीति पनि बनाउनु पर्दछ । यसको अनुगमन गर्ने प्रक्रिया पनि कडाइका साथ लागू गरिनु पर्दछ । माननीय सांसद साथीहरू, माननीय मन्त्री ज्यूहरू व्यावसायिक रूपमा हुनुहुन्छ बाहिर । यहाँ भित्र बिल्ला लगाएर बस्नु भएकै छ । कहिलेसम्म हामीले यो अवस्था राख्ने हो त ?,’ उनले सोधे ।