काठमाडौं ।आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। आज (आइतबार) नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि झडप भएपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए ।
‘प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ । लाठीचार्ज भएको छैन’, उनले भने । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको हो । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ ।
प्रत्यक्षदर्शी शिक्षक पूर्ण ब्लोनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन् । ‘हामी आफ्नो माग राखेर आन्दोलन गरिरहेका थियौं । आन्दोलनमा घुसपैठ भएको हो । एउटा समूह घेरा तोड्न खोज्यो । त्यसपछि झडप भएको हो । पानीको फोहोरा प्रहार भयो ।’ झडपमा केही शिक्षक घाइते पनि भएको बताए । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन। सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया