काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताएका छन्।
नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताए। मान्छे मात्रै बदलिएर केही नहुने उनको जिकिर छ। उनले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गरे।
मन्त्री गुरुङले आफूले सुरूमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भएपनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताए।
उनले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरेपनि यस पटक पूरा हुन नसकेको बताए। मन्त्री गुरूङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेश गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताए।
यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गरे। अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको उहाँले बताउनुभयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताए।
उनले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताए। उनले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताए। मन्त्री गुरूङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गरे।


प्रतिक्रिया