मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू-१९ विश्वकप छनोट : हङकङविरुद्ध नेपाल फिल्डिङमा, जितमा ह्याट्रिक गर्ने मौका

यू-१९ विश्वकप छनोट : हङकङविरुद्ध नेपाल फिल्डिङमा, जितमा ह्याट्रिक गर्ने मौका

न्यूजस्टोरी

काठमाडौँ । यू–१९ विश्वकप छनोट प्रतियोगितामा हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र हङकङबीचको खेल काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा भइरहेको हो ।

जारी प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले पहिलो म्याचमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हरायो । नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ । उता हङकङ भने पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो । हङकङको टिम बुधबार नेपाललाई स्तब्ध बनाउँदै जितको खाता खोल्ने दाउमा छ ।

जारी प्रतियोगितामा हङकङलाई कमजोर टिमको रूपमा हेरिएको छ । ऊ पहिलो खेलमा अफगानिस्तानसँग ३६.२ ओभरमा ७० रनमै अलआउट भयो । हङकङ नेपालविरुद्ध सुधारिएको प्रदर्शन गर्न चाहन्छ । यता उपाधि दाबेदार नेपाल हङकङविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ ।

यूएईविरुद्ध डकवर्थ लुइस पद्धतिअनुसार रोमाञ्चक जित निकालेको नेपालले ४० ओभरमा झारिएको उक्त म्याचमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो, जहाँ कप्तान नरेन भट्टले ७५ बलमा ६७ रनको पारी खेले । बलिङमा अलराउन्डर सन्तोष यादवले ८ ओभरमा २३ रन दिएर सर्वाधिक दुई विकेट लिए । दोस्रो खेलमा ओमानविरुद्ध नेपालले बलिङ/ब्याटिमै सानदार प्रदर्शन गर्‍यो । त्यस खेलमा ओमानलाई नेपालले ३८ ओभरमा १ सय १७ रनमै समेट्यो । ओमानलाई सस्तैमा अलआउट गर्न नेपाली स्पिनर युवराज खत्रीले घातक बलिङ गरे ।

उनले ७ ओभरमा १५ रन मात्र दिएर सर्वाधिक ५ विकेट लिए । ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा ओपनर निरजकुमार यादवले ३१ बलमा सर्वाधिक ४६ रन जोडे । नेपाल तेस्रो खेलमा पनि सानदार अलराउन्ड प्रदर्शन गरेर अपराजय यात्रा जारी राख्ने सोचमा छ । हङकङसँग नेपाल यू–१९ ले साढे २ महिनाको अन्तरालमा खेल्न लागेको हो ।

गत डिसेम्बरमा मूलपानी मैदानमा भएको हङकङसँगको तीनको खेलको सिरिज नेपालले ३–० ले क्लिन स्विप गरेको थियो । त्यस सिरिजमा नेपालले तीनवटै खेलमा एकतर्फी जित निकालेको थियो । नेपाल त्यो नतिजा बुधबार पनि दोहोर्याउन चाहन्छ । विश्वकप छनोटमा नेपाललाई त्रास भनेको अफगानिस्तानको हो । नेपाल र अफगानिस्तानबीचको बहुप्रतिक्षित खेल १९ अप्रिलमा हुनेछ ।

अहिलेसम्म टिमहरूको प्रदर्शन हेर्दा नेपाल र अफगानिस्तानबीचको विजेता टोलीले नै आउँदो वर्षको यू–१९ विश्वकपको टिकट काट्ने देखिन्छ ।