मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेताहरूले सरकारको आलोचना गरिरहेको बेला बोलाइयो उच्चस्तरीय संयन्त्रको बैठक

कांग्रेस नेताहरूले सरकारको आलोचना गरिरहेको बेला बोलाइयो उच्चस्तरीय संयन्त्रको बैठक

न्यूजस्टोरी

काठमाडौँ । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्ने भएको हो । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ ।

पछिल्लो समय गठबन्धनमा असमझदारी बढेको टिप्पणी भइरहेको छ । संयन्त्रमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको बताएका थिए । थापाले यस्तो टिप्पणी गरेको एक दिनपछि संयन्त्रको बैठक बस्न लागेको हो । उता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो सरकार लामो समयसम्म नटिक्ने टिप्पणी गरेका थिए । यता शिक्षकहरूले सडक आन्दोलन चर्काइरहेका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन भन्दै संसद अधिवेशन बोलाउँदै शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्कन अनुरोध गरेको थियो । तर, आन्दोलित शिक्षकहरूले राज्य आफूहरूप्रति अझै अनुदार रहेको भन्दै आन्दोलन नरोक्ने बताएका छन् । त्यसो त मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि पेचिलो बनेको कतिपयको टिप्पणी छ । उता त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले राजीनामा दिएसँगै सो पद पनि रिक्त भएको छ ।

त्यसैले कतिपय महत्त्वपूर्ण नियुक्ति, आन्दोलन, सरकारको डेलिभरी लगायतका विषय पेचिलो बनिरहेका बेला संयन्त्रको बैठक डाकिएको हो संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।