पन्जाब नेशनल बैंक (पीएनबी) ऋण ठगी प्रकरणका अभियुक्त हीरा व्यवसायी मेहुल चोकसी बेल्जियममा पक्राउ परेका छन् ।
भारतका अनुसन्धान निकायले गरेको प्रत्यार्पण आग्रहका आधारमा १२ अप्रिलमा चोकसी पक्राउ परेका भारती सञ्चारमाध्यमले जनाएका छन् । उनी हाल जेलमा छन् । चोकसीको गिरफ्तारीपछि बेल्जियमले प्रतिक्रिया दिँदै उनलाई न्यायिक प्रक्रियाका लागि जेलमा राखिएको जनाएको छ । भारतले बेल्जियमसँग उनको प्रत्यार्पण प्रक्रिया अघि बढाइसकेको छ । सन् २०२३ मा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले चोकसीलाई गिरफ्तार गर्न बेल्जियम सरकारसँग अनुरोध गरेको थियो । पक्राउपछि उनले अदालतमा धरौटीको माग गरेका छन्। चोकसीले आफू उपचारका लागि बेल्जियम आएको र पत्नी सँगै एन्टवर्पमा बसिरहेको उल्लेख गरेका छन्।
स्विट्जरल्यान्ड भाग्ने तयारीमा थिए चोकसी
चोकसीमाथि १३,८५० करोड रूपैयाँको बैंक ठगीको आरोप छ । गत महिना उनी बेल्जियममा रहेको खुलासा भएको थियो । रिपोर्टअनुसार, चोकसी बेल्जियमकी नागरिक पत्नी प्रीति चोकसीसँग बसिरहेका छन् ।
बेल्जियमको परराष्ट्र मन्त्रालयले नै चोकसीको उपस्थिति पुष्टि गरेको थियो। स्रोतका अनुसार उनी बेल्जियमबाट स्विट्जरल्यान्ड भाग्ने प्रयास गरिरहेका थिए। पक्राउका बेला प्रहरीले मुम्बईको एक अदालतबाट जारी दुई पक्राउ पुर्जीको हवाला दिएको छ, जुन क्रमशः २३ मे २०१८ र १५ जुन २०२१ मा जारी भएका थिए।
चोकसी बेल्जियममा पक्राउ परेपछि चोकसीले देश छाड्नुभन्दा चार वर्षअघि नै एफआईआर दर्ता गराएका गुजरातका ठूला सुन व्यापारी दिग्विजयसिंह जाडेजाले केही चकित पार्ने खुलासा गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले अब चोकसीलाई अवश्य भारत ल्याउने विश्वास व्यक्त गरेका छन् ।जाडेजाका अनुसार चोकसीले केवल भारतीय बैंकहरू ठगेर मात्र हैन, अनेकौं व्यवसायीबाट पनि करोडौं ठगेका छन् ।
जाडेजाले आफूले चोकसीको कम्पनीलाई लगानीको रूपमा १०६ किलो सुन र ३० करोड नगद दिएको बताएका छन् । अहिलेको दरअनुसार करिब १२८ करोड रूपैयाँको ठगी भएको उनको आरोप छ । जाडेजाका अनुसार मेहुल र नीरव मोदीले गरेको घोटालाको कूल रकम ११,४०० करोडभन्दा धेरै हुन सक्ने सम्भावना छ । उनले २०१५ मै चोकसीविरुद्ध एफआईआर दर्ता गराएका थिए जसको आधारमा गुजरात उच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।
चोकसीसँग छन् २९ कम्पनी
जाडेजाले २०१८ मै दाबी गरेका थिए कि चोकसीका करिब २९ कम्पनीहरूको सूची उनीकहाँ छ । तीमध्ये धेरै कम्पनी विदेशमा सञ्चालित छन् र नाफामा छन् भने भारतका कम्पनीहरू घाटामा देखाइएको छ ।
चोकसीकी पत्नीको नाममा दुबईको बुर्ज खलिफामा पनि फ्ल्याट रहेको जाडेजाले खुलासा गरेका छन् । ‘चोकसी निकै चलाख छ । उसका एजेन्टहरू हरेक ठाउँमा छन् । मेरो अपिल छ, यो मुद्दाको अनुसन्धान निष्पक्ष रूपमा होस् । मसँग प्रमाण छन्, माग भएमा म सबै प्रमाण दिन तयार छु’, जाडेजाले भनेका छन् ।
पत्नीको सहयोगमा रेसिडेन्सी कार्ड प्राप्त
चोकसीले १५ नोभेम्बर २०२३ मा बेल्जियमको ‘एफ रेसिडेन्सी कार्ड’ प्राप्त गरेका थिए, जुन पत्नीको सहयोगमा हासिल गरिएको बताइएको छ । रिपोर्टअनुसार उनले बेल्जियम अधिकारीहरूलाई नक्कली कागजात पेश गरेका थिए । उनले भारत र एन्टिगुवा नागरिकता लुकाएर गलत जानकारी दिएका थिए, ताकि भारत नफर्कन पाओस् ।
२०१८ मा भारत छाड्नुअघि नै उनले २०१७ मा एन्टिगुवा-बारबुडा नागरिकता लिएका थिए । त्यसपछि उनी पटकपटक स्वास्थ्यको कारण देखाएर भारत नफर्कने भन्दै पेसीमा अनुपस्थित भइरहे । कहिलेकाहीँ भिडियो कन्फरेन्सिङमार्फत् मात्र पेसी हुने गरेको थियो । भारतमा उनका धेरै सम्पत्ति जफत भइसकेका छन्। उनका भतिजा नीरव मोदी पनि सोही घोटलामा संलग्न रहेका बताइएको छ । उनी लण्डनमा छन् ।
प्रतिक्रिया