काठमाडौं । पछिल्लो समय गठबन्धन सरकारप्रति नेपाली कांग्रेसका नेताहरूको आक्रोश चुलिँदो छ ।
नेता शेखर कोइरालापछि महामन्त्री गगनकुमार थापा पनि केपी शर्मा ओली नेतृत्वको सरकारसँग आक्रोशित छन् । उनले त मंगलबार मात्रै सरकारको गति कछुवाको भन्दा सुस्त भएको टिप्पणी गरेका छन् । अर्का नेता एनपी साउद पनि सरकारबारे खुलेर आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन् । कांग्रेस नेताहरू सरकारबारे आक्रमक हुँदा एमाले भने मौन जस्तै छ । सोमबार मात्रै बसेको एमाले सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।
नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको हो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् ।
भट्टराईले दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको बताएका छन् । यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ । एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दोछ ।
यही तनावबीच प्रधानमन्त्री ओली र देउवाबीच लामो संवाद भएको हो । मंगलबार मात्रै कांग्रेस महामन्त्री थापाले पनि सरकार कामबारे गम्भीर प्रश्न उठाएका थिए। सरकारको प्रस्तुतिबारे प्रश्न उठाउँदै उनले प्रधानमन्त्रिको बेडरुमसम्मै बिचौलियाले कब्जा जमाएको टिप्पणी पनि गरेका थिए ।
प्रतिक्रिया