काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुने घटनाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले पूर्वराजा शाहलाई समिति बैठकमा बोलाउन सभापतिलाई आग्रह गरेका हुन् ।पूर्वराजा ज्ञानेन्द्र पनि नेपाली नागरिक भएकाले समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको भनाइ थियो । ‘पूर्वराजा ज्ञानेन्द्र शाह अहिले नेपाली नागरिक हुनुहुन्छ । उहाँलाई आम मानिसलाई भए जति मात्रै अधिकार छ, बढी छैन । चैत १५
गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे विभिन्न विचारहरू आउन थालेका छन्,’ समिति बैठकमा परियारले भने, ‘सभापतिज्यू, पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं- यो मानव अधिकार उल्लंघनको घटना हो कि होइन, तपाईंले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा ? यसबारे पनि छलफल गर्न आवश्यक छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’
चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भन दर्जनौं निजी घर तथा गाडीमा तोडफोड र आगजनी गरिएको थियो । प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट गरेका थिए ।


प्रतिक्रिया