अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि टेक्सासलाई आवश्यक पानी नदिए कडा परिणामको चेतावनी दिएका छन् । बिहीबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ‘मेक्सिकोले टेक्सासका किसानबाट पानी चोरिरहेको’ आरोप लगाए ।
उनले सन् १९४४ को द्विपक्षीय जलस्रोत सन्धि उल्लङ्घन भएको दाबी गर्दै ‘मेक्सिकोले सन्धिको सम्मान नगरे प्रतिबन्ध र भन्सार कर लगाइने’ चेतावनी दिए । उक्त सन्धिअनुसार अमेरिका र मेक्सिकोले रियो ग्रान्डे नदीको पानी बाँड्ने सहमति गरेका थिए । सन्धिको यो चक्र अक्टोबरमा समाप्त हुँदैछ । मेक्सिकोले अझै १ अर्ब ५५ करोड घनमिटर पानी उपलब्ध गराउनु बाँकी छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले भने खडेरीको अवस्थाबीच पनि आफूहरूले सन्धि पालना गरिरहेको बताउँदै अमेरिकी विदेश मन्त्रालयलाई ‘व्यापक प्रस्ताव’ पठाइएको जानकारी दिए । यसबीच वाशिङ्टनले मार्चमा मेक्सिकोको विशेष पानी वितरणको अनुरोध अस्वीकार गरिसकेको छ। मेक्सिकोले रियो ग्रान्डे बेसिनमा दुई दशक लामो खडेरीका कारण ढिलाइ भएको बताउँदै आएको छ । तर, अमेरिकी सांसद र किसानहरूले मेक्सिकोले हरेक पाँच वर्षे वितरण चक्रको अन्तिम चरणसम्म प्रतीक्षा गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सन् २०२० मा चिहुआहुआ राज्यका किसानले पानी आपूर्ति रोक्न बाँध कब्जा गर्दा नेशनल गार्डसँग झडप भइ एक जनाको मृत्यु समेत भएको थियो ।


प्रतिक्रिया