सुर्खेत । हावाहुरीका कारण कर्णालीका अधिकांश जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । बुधबार रातिको हावाहुरी र चट्याङका कारण कर्णालीमा आपूर्ति हुने विद्युत् प्रशारण लाइनमा क्षति पुग्दा विद्युत् र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो ।
हावाहुरीसँगै आएको वर्षाका कारण कोहलपुर–सुर्खेत र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ । विद्युत सेवा अवरुद्ध भएसँगै कर्णालीका १० वटै जिल्ला प्रभावित भएका छन् ।
विद्युत सेवा अवरुद्ध भएपछि केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सुर्खेतले जनाएको छ । विद्युत् प्राधिकरणका अनुसार हावाहुरीले विभिन्न ठाउँमा रुखसँगै विद्युतका पोल ढलेका छन् ।


प्रतिक्रिया