कलैया, चैत्र २३ । यातायात कार्यालय बारामा भइरहेका अनियमितताको भण्डाफोर गर्न पुगेका पत्रकारमाथि यातायात कार्यालय बाराका कर्मचारीबाट दुर्व्यवहार भएको छ । रिपोर्टिङका क्रममा गएका पत्रकार प्रभात यादवसहित चार जनाको टोलीमाथि कर्मचारीले हस्तक्षेप गर्दै मोबाइल समेत खोसेर भिडियो नखिच्न चेतावनी दिएका थिए ।
प्राप्त विवरणअनुसार, पत्रकारको टोली यातायात कार्यालय बाराका प्रमुख अरविन्द दासले सेटिङमा लाइसेन्स वितरण गरिरहेको सूचनाको सत्यता बुझ्न स्थलगत रिपोर्टिङका लागि पुगेको थियो। तर, सो क्रममा प्रहरी आफैंले रिपोर्टिङमा अवरोध गर्दै यादवको मोबाइल खोस्नुका साथै “सिडियोको पत्र ल्याएर आउ” भनी धम्क्याएको जनाइएको छ। कार्यालयमा उपस्थित सबै कर्मचारीहरु कोही पनि सरकारी पोषाकमा भने थिएनन् । यसले शंका हुन्छ कि उनिहरु यातायातकै कर्मचारी थिए कि अन्य भनेर । समाचार संकलनमा अवरोध पुगेको भनि कार्यालय प्रमुखलाई सम्पर्क गर्दा उनि कार्यालयमा नभएको बताउँदै यो बारा जिल्ला भएको र जे पनि हुन सक्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।
यातायात कार्यालय गौर र रौतहटमा कार्यरत रहँदा समेत सेटिङका आधारमा लाइसेन्स वितरण गर्दै आएका दासलाई मन्त्रालयले पहिले नै हटाएर तानेको थियो। तर, ठुलो रकम बुझाएर पुनः कलैया कार्यालयको प्रमुखका रूपमा पुनर्नियुक्त भएपछि उनी सोही सेटिङमार्फत पुनः लाइसेन्स वितरणमा सक्रिय भएको आरोप लागेको छ।
स्थानीयको भनाइमा, दासले आफ्ना नातेदार र बिचौलियामार्फत सेटिङको भरमा अवैध रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। यो क्रममा उठाइने रकम दासको मन्त्रालय पठाउने लगानीको ‘रिटर्न’ हो भन्ने व्यापक चर्चा छ।
सार्वजनिक कार्यालयमा भइरहेका यस्ता अनियमितता र भ्रष्टाचार उजागर गर्न खोज्ने पत्रकारमाथि कर्मचारीबाटै दुर्व्यवहार हुनु निकै दुःखद र निन्दनीय रहेको स्थानीयको भनाइ छ।
यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको गम्भीर ध्यानाकर्षण जरुरी देखिएको छ।


प्रतिक्रिया