मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखलाई भेटेर रविले भने–मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

सभामुखलाई भेटेर रविले भने–मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । आज (मंगलबार) बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।

यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए । मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् । लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।

आज रास्वपा सांसदहरुको टोली नै लिएर लामिछाने घिमिरोलाई भेट्न पुगेका थिए । घिमिरेले भने कानुनी आधारमा लामिछाने निलम्बन भएको जवाफ फर्काएका थिए । ‘मैले सूचना मात्रै जारी गर्ने हो । अहिलेको कानुनी व्यवस्थामा जे छ त्यहि भएको हो । रास्वपा र लामिछानेप्रति मेरो कुनै पूर्वाग्रह छैन भन्नु भयो,’ भेटमा भएको छलफलबारे सभामुखका सञ्चारविज्ञ शेखर अधिकारले भने ।

गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी गर्दै आएको छ । संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन्।