सिराहा, १६ चैत्र । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा विस्थापित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ ।
मदन भण्डारी आवास कार्यक्रममार्फत मधेश सरकारको पाँच लाख ६० हजार लागतमा घरमा निर्माण हुने भएको हो । घरमा दुई कोठा, भान्सा र शौचालय हुनेछ । एक हप्ताभित्रै घर निर्माण कार्य शुरू हुने मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभएको छ ।
भोलि चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गएको फागुन १० गते दलित भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर भत्काइएको थियो ।
गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दीपक यादव र बजरङ्गी बाबाले डोजर लगाएर घर भत्काइदिएको घटना सार्वजनिक भएको थियो ।
घटनापछि पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीपकुमार यादव हिजो धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिराहाका न्यायाधीश विदुर काफ्लेको इजालसले जनही एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरङ्गी बाबा भने फरार छन् ।


प्रतिक्रिया