मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका दर्जनबढी क्याम्पसमा स्ववीयू निर्वाचन अनिश्चित, कतै ताला कतै निर्वाचन गराए ज्यान मार्ने धम्की

कोशीका दर्जनबढी क्याम्पसमा स्ववीयू निर्वाचन अनिश्चित, कतै ताला कतै निर्वाचन गराए ज्यान मार्ने धम्की

न्यूजस्टोरी

विराटनगर । आन्तरिक विवादका कारण प्रदेशका दर्जन बढी क्याम्पसहरूमा स्ववीयू निर्वाचन अनिश्चित भएको छ । प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण स्ववीयू निर्वाचन अनिश्चित भएको छ ।

महेन्द्र मोरङमा नेपाल विद्यार्थी संघ कोइराला समूह र देउवा समूहकाबीचमा विवाद छ । सोही विवादका कारण निर्वाचन हुने/नहुने अझै टुङ्गो लागेको छैन । सो क्याम्पसमा केही दिनयता विद्यार्थी संघका दुई समूहकाबीचमा झडपसमेत हुँदै आएको छ ।

महेन्द्र मोरङमा नेविसंघबाट दुईवटा प्यानलको उम्मेदवारी परेको थियो । नेवि संघ का प्रज्वल विष्टले दिएको उम्मेदवारीलाई निर्वाचन समितिले आधिकारिक मानेपछि विवाद बढेको हो । उनी देउवा समूहका हुन् । यस्तै योगराज दाहालको नेतृत्वमा अर्को प्यानल दर्ता भएको थियो । सो समूहको उम्मेद्वारीलााई निर्वाचन समितिले स्वतन्त्र उम्मेदवारको हैसियत प्रदान गरेपछि विवाद बढेको छ ।

विवादपछि दाहालसहितका नेताहरूले स्ववियू निर्वाचन समितिको कार्यालयमा आगो लगाएर निर्वाचन अधिकृत डा. सुशील कुमार अधिकारीलाई कोठामै थुनेका थिए । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीले ताला फोडेर अधिकारीको उद्धार गरेको थियो ।

नेपाल विद्यार्थी संघको कोइराला समूहले महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचन निष्पक्ष हुने वातावरण नभएसम्म निर्वाचन हुन नसक्ने बताउँदै आएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगराज दाहालले सहमतिबिना निर्वाचन गरिए जे पनि हुने धम्की दिँदै आएका छन् । उनले भने, ‘यदि गरिए कोही कसैको आत्मदाह हुनसक्छ । कोही मर्न सक्छ, कोही मार्नसक्छ । यो चेतावनी दिन चाहन्छु ।’

महेन्द्र मोरङ स्ववीयु निर्वाचनका निर्वाचन अधिकृत डा. सुशील अधिकारीले भने निर्वाचन हुने बताएका छन् । उनले तयारी भइरहेको बताए । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।

यसैगरी सुनसरीको जनता क्याम्पसमा समेत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने टुङ्गो लागेको छैन । सो क्याम्पसमा विद्यार्थी भर्नाका विषयमा विवाद रहेको छ । एमाले निकाट अनेरास्ववीयुले २०६ विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै विरोध जनाउँदै आएको छ ।

यसैगरी खोटाङका कुनै पनि क्याम्पसमा निर्वाचन नहुने भएको छ । खोटङ्गमा सात वटा क्याम्पस रहेका छन् । विद्यार्थी भर्नाको विवादका कारण खोटाङमा स्ववीयु निर्वाचन अनिश्चित भएको छ ।

अनेरास्ववीयु खोटाङका अध्यक्ष विष्णु उपरकोटीले विद्यार्थी भर्नाको विवादका कारण खोटाङका कुनै पनि क्याम्पसमा निर्वाचन हुने सम्भावना कम रहेको बताए । यसै गरी उदयपुरको त्रियुगा बहुमुखी क्याम्पस र बरुवा क्याम्पसमा पनि स्ववीयु निर्वाचन अनिश्चित बनेको छ । ती क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ ।