मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा आरोहणको तयारी तीव्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

सगरमाथा आरोहणको तयारी तीव्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

न्यूजस्टोरी

सोलुखुम्बु, २९ फागुन । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ ।

आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’ को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।

एसपीसीसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ ।

आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपीसीसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ ।

खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण ठाउँमा भर्‍याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता काम गर्नुपर्ने हुन्छ ।

सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ ।

दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ ।

आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ ।