मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको रूस–युक्रेन युद्धमा मृत्यु

रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको रूस–युक्रेन युद्धमा मृत्यु

न्यूजस्टोरी

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी रसिया र युक्रेनको लडाईंमा मारिएका छन् । बुढाथोकीको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि उनी रसिया गएका थिए । २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । रसिया र युक्रेनको बेलाबेला भइरहने लडाईंले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ ।

परिवारले फागुन २४ गते मात्र उनको मृत्युको जानकारी पाएका थिए । उनको मृत्यु भएको यकिन मिति समेत थाहा छैन। उनले रसियाको सेना छाडेर घर आउने पनि बताउँदै आएको आफन्त बताउँछन् । अन्ततः उनको दुःखद घटनामा ज्यान गएको छ । सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको हो । वडाको पूर्व अध्यक्ष समेत भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेता समेत रहेका बुढाथोकीको रसियामा भएको मृत्युले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि र नागरिक समाज स्तब्ध बनेका छन् ।

सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना निकै दुःखद भएको बताए । ‘म गाउँपालिकामा अध्यक्ष निर्वाचित हुँदा उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । पाँच वर्ष सहकार्य गरियो,’ गाउँपालिकाका पूर्वअध्यक्ष पुनले भने, ‘उहाँको मृत्युको खबरले स्तब्ध भएको छु ।’ बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन् । तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् । दाजु खगेन्द्रले अगाडि भने, ‘अवैध तरिकाले गएको मान्छे उतै हरायो । अब लाश आउने बाटो पनि छैन भने आश गरेर बस्ने कुरा पनि भएन । हिजैबाट हामीले काजकिरिया थालिसक्यौं ।’

तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए । छोरोको चिन्ताले उनका बुवाआमाले नै जागिर छोड्न लगाएका थिए । जागिर छोडेर केही समय गाउँमै खाली बसे । पछि घर परिवारलाई थाहै नदिई उनी रुस गएका थिए । तिलक २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीच बाटोबाटै फर्किएका थिए ।