काठमाडौँ । पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न काठमाडौँ आउन लागेका छन् ।
यसै अवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तीब्र बनाइरहेका छन् ।
पूर्व राजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरङ्गित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् । सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ । सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आंकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया