काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको महोत्तरीस्थित पुर्ख्याैली घरमा पुगेका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा महोत्तरी प्रचण्डसहितका नेताहरु बिहीबार बिहान मेयर साहको घर पुगेका हुन् । हाल बालेनको पुर्ख्याैली घर गाउँपालिकाले प्रयोग गरिरहेको छ । प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ ।
सोही घरमा राखिएको कार्यक्रममा बोल्दै बालेनको घरमा आउँदा रमाइलो महसुस भएको भन्दै उनले सबै मिलेर देश बनाउन आह्वान गरे । ‘बालेन साहको पुर्ख्याैली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं, यो पनि एउटा रमाइलो महसुस भाछ । बालेनजीले पनि सुनिराख्नु भएको होला । हामी सबै मिलेर यो देश बनाउनुछ’, प्रचण्डले भने ।
समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको बताए । ‘हजारौंको बलिदान गरेर पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकको मुद्दालाई स्थापित नगरेको भए आज देश यो ठाउँमा हुने थिएन,’ उनले भने ।


प्रतिक्रिया