काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षी दलहरूको अध्यादेश विरोधलाई निराधार ठहर गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको कार्यसूचीअनुसार अध्यादेश स्वीकृत गर्ने प्रक्रिया अघि बढ्दा विपक्षी दलहरूले सरकारमाथि सदन छल्ने आरोप लगाउँदै विरोध जनाएका थिए ।
तर, सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विपक्षको आलोचनालाई तथ्यमा आधारित नभएको दाबी गरेका छन्। रोष्ट्रमबाट उनले दुर्गालाल श्रेष्ठको प्रसिद्ध कविता उद्धृत गर्दै भने, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।’ उनले विपक्षी दलहरूले केवल विरोधका लागि विरोध गरिरहेको टिप्पणी गरे। ‘उहाँहरूले काँडा मात्रै देख्नुभएको छ, हामीले फूलै फूल देखेका छौँ,’ उनले भने ।
गुरुङले अध्यादेश आवश्यकताअनुसार ल्याइएको सुनाए र त्यसका हरेक प्रावधानबारे स्पष्ट छलफल हुनुपर्नेमा विपक्ष केवल आलोचनामै सीमित रहेको बताए । ‘कुन दफा, कुन धारामा समस्या छ भन्नेबारे विपक्ष स्पष्ट छैन । त्यसैले विरोधका लागि मात्रै विरोध भइरहेको छ,’ उनले भने । सरकारको तर्फबाट उनले अध्यादेश स्वीकृत हुने दाबी गर्दै सदनमा सार्थक बहसको अपेक्षा राखे ।


प्रतिक्रिया