मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल कसैसँग पार्टी एकीकरणको सम्भावना छैन : झलनाथ खनाल

तत्काल कसैसँग पार्टी एकीकरणको सम्भावना छैन : झलनाथ खनाल

न्यूजस्टोरी

धनुषा । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । आज (मंगलबार) धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था अहिले नभएको बताएका हुन् ।

उनले एजेण्डाका आधारमा कार्यगत एकता गर्न भने सकिने बताएका छन् । आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत एकता गर्ने सम्भावना भएको उनको भनाइ छ । ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ,’ उनले भने, ‘इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ? चुच्चे नक्सा नेपाललले बनायो। त्यसलाई कार्यान्वयन गरियोस्। हामी उभिन सक्दैनौं ?’

उनले सरकार संकटको पोको बोकेर हिँडिरहेको आरोप समेत लगाए । ‘अहिले जुन सरकार छ, झण्डै दुई तिहाइको सरकार भारी बर्कम सरकार भए पनि अनेक संकटको पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो,’ उनले भने, ‘अध्यादेश ल्याउनु पर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरुप कुनै पनि ऐनहरू सामान्य रुपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन ।’