मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवामा कांग्रेस क्षेत्रीय सभापतिलाई प्रशिक्षण, शेखर कोइराला नजाने

भैरहवामा कांग्रेस क्षेत्रीय सभापतिलाई प्रशिक्षण, शेखर कोइराला नजाने

न्यूजस्टोरी

बुटवल । सत्तारुढ नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज (सोमबार) देखि रुपन्देहीको भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम गर्दैछ । देशभरका १६५ क्षेत्रीय सभापतिहरू प्रशिक्षणका लागि भैरहवा आइपुगेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । प्रशिक्षणको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार सोमबार र मंगलबार हुने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् ।

प्रशिक्षणका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सोमबार आउँदै छन् । गृहमन्त्री रमेश लेखक पनि सोमबार नै भैरहवा आउने कार्यक्रम रहेको जनाइएको छ । नेता शेखर कोइराला र मिनेन्द्र रिजाललगायत नेताहरू भने शनिवारदेखि नै रुपन्देहीमै छन् । यसअघि कांग्रेसले माघ २२ र २३ गते प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्यसहित कांग्रेसमा इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालाई निम्तो दिइएको थिएन । उनीलगायत केही नेतालाई नबोलाएपछि नेतृत्वको चर्को आलोचना भएको थियो । यस पटक भने शेखरसहितका नेतालाई पनि बोलाइएको छ । पोखरको कार्यक्रममा निम्तो नै नदिइएको शेखरलाई यस पटक भने निम्तो दिइएको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

‘चार दिनअघि पार्टी केन्द्रीय कार्यालयका एक कर्मचारीले टेलिफोन गरेर कार्यक्रमबारेमा जानकारी गराउँदै सहभागिताका लागि निम्तो दिनुभएको थियो,’ उनले भने, ‘त्यसै पनि उहाँको पूर्व निर्धारित कार्यक्रम तय भइसकेको छ । उहाँ भैरहवाको कार्यक्रममा जानु हुँदैन ।’ थपलियाका अनुसार कोइराला आजै विराटनगर जाँदैछन् । उनी विराटनगरमै सुरु हुने विराट गोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जान लागेको उनले जानकारी दिएका छन् । भोलि पनि विराटनगरमै केही कार्यक्रमहरु तय भएको थपलियाको भनाइ छ ।