मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

आइतबार सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

न्यूजस्टोरी

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । आइतबार नेप्से ७५.२४ अंकले बढ्दै २८९०.२८ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से २.६७ प्रतिशतले बढ्यो ।

उच्च अंकले नेप्से बढ्दै गर्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधनको सूचक ४.७९ प्रतिशतले बढ्यो । साथै, जीवन बिमा, होटल तथा पर्यटन र फाइनान्सको सूचक ४ प्रतिशतभन्दा बढीले बढ्यो । आज विकास बैंक, लगानी र निर्जिवनको सूचक ३ प्रतिशतभन्दा बढीले बढ्यो । यसैगरी, बैंकको सूचक २ प्रतिशतभन्दा बढीले बढ्दा अन्यको सूचक १ प्रतिशतभन्दा माथि बृद्धि भयो । उच्च अंकले नेप्से बढेपनि आइतबार सामूहिक लगानीको सूचकमा भने १.२७ प्रतिशतले गिरावट आएको छ ।

उच्च अंकले सूचकमा बृद्धि भइरहँदा कारोबारमा आएका १९६ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्यमा करेक्सन आयो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो । आज आधा दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भएको छ । सूचक बढेसँगै नेप्सेमा कारोबार रकम पनि ६ महिनायताकै उच्च भएको छ । २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको भयो ।

आज कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, सिन्धु विकास बैंकलगायत शीर्ष स्थानमा रहे । नेपाल रिको मात्रै ९७ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्से लगातार ८ कारोबार दिनदेखि उकालोमा थियो । आइतबारको बृद्धिसहित नेप्सेमा २१२ अंकले बृद्धि भएको छ । नेप्से २९ सयको बिन्दुनजिक पुग्दै गर्दा थप उत्साहित भएको देखिन्छ ।विशेषगरी मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशत झारिएसँगै ठूला लगानीकर्ता उत्साहित देखिएका छन् । सँगै, अहिलेका गभर्नरको बिदाईको चर्चाले पनि बजालाई उत्साह दिइरहेको छ ।

आइतबारको कारोबारसँगै नेप्सेले छिट्टै पुरानो रेकर्डलाई ब्रेक गर्ने अवस्था बनेको बजारका लगानीकर्ता बताउँछन् । बजारका जानकार जगतजंग जिसी बजारले बुलको बलियो लय समातेको टिप्पणी गरेका छन् ।