मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैले नेतृत्व गरें कांग्रेसलाई थप संस्थागत र मजबुत बनाउँछु – प्रकाशमान सिंह

मैले नेतृत्व गरें कांग्रेसलाई थप संस्थागत र मजबुत बनाउँछु – प्रकाशमान सिंह

न्यूजस्टोरी

सुर्खेत । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टी महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन् । आज (आइतबार) सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताए ।

पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको बताउँदै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ ।’

‘काम चमत्कारिक र द्रुत रूपमा सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो सोच हो । परिस्थिति हेर्दा सेवा प्रवाह सहज बनाउन अध्यादेश ल्याउनु आवश्यक भएको हो,’ उनले थपे । कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाह, कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहीलगायतका उल्लेख्य नेता कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए । पछिल्लो ६ महिना करिब ५० जिल्ला पुगिसकेका छन् सिंह ।

पार्टीभित्रको भावी सभापतिका दाबेदारहरुको बारेमा अहिले विभिन्न अड्कलबाजी भइरहेका बेला सिंहले आफू कुनै पनि हालतमा पछाडि नहट्ने संकेत गरेका छन् । सिंहसहित संस्थापन पक्षका ११ जनाले सभापति देउवालाई भेटेर उत्तराधिकारी को भनेर प्रश्न गरेका थिए ।

‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले दोहोर्‍याउँदै भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ । यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’ उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले उनलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको दाबी गरे ।

‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु’ उनले भने । नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ । सभापति पदका लागि विभिन्न नेताहरूले दाबी गरिरहेका छन्। देउवा पक्षबाट निरन्तरता दिने संकेत मिलिरहेका बेला अन्य नेताहरू संस्थागत सुधारको नारा दिएर मैदानमा उत्रने तयारीमा छन् ।

‘पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्छ। पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्छ, विवादका रूपमा होइन,’ उनले जोड दिए । सिंहको यस धारणा सँगसँगै नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै गएको देखिन्छ । उनलाई कर्णालीमा भव्य स्वागत गरिएको थियो । स्वागतका लागि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहलगायतका नेता पुगेका थिए । सिंह पछिल्ला पटक ५० बढी जिल्लामा पुगिसकेका छन् ।