सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु सदाय मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिइएको एसएसपी कोइरालाले बताए ।
‘नियन्त्रणमा लिएकाहरू पनि पञ्चायतमा सहभागी थिए’, कोइरालाले भने, ‘उनीहरूमाथि पनि अनुसन्धान भइरहेको छ । घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए उनीहरूमाथि पनि कारवाही हुन्छ ।’ गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्याएका थिए। उक्त घटना लेनदेनमा मिलाउन पञ्चायत बसेको बिहानपल्ट माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
सुरूमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको थियो । तर, रिंकुमाथि सामूहिक बलात्कार भएको समाचार सार्वजनिक प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनायो। कोइरालाले घटना दबाउन पञ्चायत बसेको र रकमको बार्गेनिङमा घटना लुकाउन खोजेको बताएका छन् । पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने ५ पञ्चसहित आठ जनामाथि कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएको छ । तर, पुरक जाहेरीमा किटान गरिएका कोही पनि पक्राउ पर्न सकेका छैनन् ।


प्रतिक्रिया