काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ।
बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
संसद सचिवालयका अनुसार वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रयल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी बैठकमा सभामुखले संविधान सभा सदस्य विदुर प्रसाद सापकोटाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सापकोटाको ५९ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो।
तर,आजको बैठकमा भने यसअघि सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यूचीमा राखिएको छैन। सत्तारुढ दलबीच विवाद बढेपछि सरकारले ल्याएका अध्यादेश पारित हुन नसकेको हो।
अध्यादेश पारित हुन प्रतिनिधिसभामा मात्रै नेपाली कांग्रेस र एमालेको बहुमत पुग्छ। तर, राष्ट्रियसभामा भने बहुमत पुग्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ।


प्रतिक्रिया