मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्षमा ८६ पटक उडान अवरुद्ध

एक वर्षमा ८६ पटक उडान अवरुद्ध

न्यूजस्टोरी

सङ्खुवासभा, १० फागुन । जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिर्वतनको असरले प्रतिकूल मौसमका कारण भिजिविलिटी कमजोर हवाई उडान अवरुद्ध भएका हुन् ।

सन् २०२४ को अवधिमा ८६ पटक हवाई उडान अवरुद्ध भएको नागरिक उड्यान प्राधिकरण कार्यालय तुम्लिङ्टारका प्रमुख नवराज दाहालले जानकारी दिए । उनका अनुसार विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ ।
प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि विभिन्न समयमा हवाई उडान अवरुद्ध भएको उनले बताए ।
पछिल्लो समय हाइड्रोपावर, सडक निर्माणमा राखिएका प्लान्ट, आगलागीलगायत कारणले धुवाँ र धुलोका कणले विमानस्थल ढाक्ने गरेको उनको भनाइ छ । विमानथलको धावनमार्ग छेउछाउका डाँडामा तुवाँलो र धुलोको कणले ढाकेपछि उडान प्रभावित भएको हो ।

भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए । “माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो । उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्”, उनले भने ।

उनका अनुसार तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन् । उडान सुचारु भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित हुँदै आएका विमानस्थल कार्यालयले जनाएको छ ।

तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर–७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको थियो ।

विश्वको पाँचौँ अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यात्रुको घुइँचो हुने गर्दछ ।