मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै

रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज (सोमबार) ठगीको मुद्दा दर्ता हुने तयारी भइरहेको छ । प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले आज ती व्यक्तिहरुविरुद्ध ठगी र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीको आरोपमा पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता हुनेछ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेको कारण मुद्दा दर्ता केही ढिला हुने सम्भावना रहेको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यांक नमिलेको कारण अनुसन्धान प्रक्रिया पुनः गर्न निर्देशन दिएको थियो, जसका आधारमा फाइल प्रहरीको कार्यालयमा फर्काइएको थियो । प्रहरी कार्यालयले पुनः प्रक्रिया मिलाएर फाइल सरकारी वकिल कार्यालयमा एक साता अगाडि पठाएको थियो । अनुसन्धान प्रतिवेदनमा लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए । उक्त रकम पनि ती प्रतिवादीहरूबाट भराउनुपर्ने प्रहरीको राय छ । यस्तै सहकारीबाट जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गैरकानुनी तरिकाले ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको निष्कर्ष प्रहरीले निकालेको छ ।

रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ । यो बिगो रविसहित गोरखा मिडियाका चार जना सञ्चालकका नाममा कायम गरिएको छ । जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्र्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ ।

यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउने छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ । यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।