काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको हो । उसका लागि हसन इशाखिलले उल्लेख्य पारी खेले । मात्र ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा उनले ६५ रन बनाए ।
रवि बोपारा ३६ रनमा क्याच आउट भए । मात्र १८ बलमा समान २-२ छक्का र चौका प्रहार गरे । विपिन रावलले १७ रन बनाउँदा क्याप्टेन कुशल मल्ल १३ रनमा बोल्ड भए ।
सुदूरपश्चिमका लागि स्कोट कुग्गेलिनले २ तथा दीपेन्द्रसिंह ऐरी, ब्रेन्डोन म्याकमुलेन र सैफ जैबले समान एकएक विकेट लिए ।
सुदूरपश्चिम जारी ६ अंकमा एनपीएलमा अपराजित छ भने चितवनले तीन खेलबाट चार अंक बनाएको छ । जारी खेलमा जित निकाल्न सके सुदूरपश्चिम ८ अंकमा शीर्ष स्थानमा उक्लनेछ । ८ अंकमा शीर्ष स्थानमा अहिले अर्को अपराजित टोली जनकपुर बोल्ट्स छ ।
चितवन विजयी भए सुदूरपश्चिमको अपराजित यात्रामात्र टुंगिने छैन, चितवनले अंकसमेत बराबरी गर्नेछ ।


प्रतिक्रिया