मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरमा २५ शैयाको आयुर्वेद अस्पताल सञ्चालन, १० औषधि उत्पादन शुरु

रत्ननगरमा २५ शैयाको आयुर्वेद अस्पताल सञ्चालन, १० औषधि उत्पादन शुरु

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २० मंसिर । चितवनको रत्ननगरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अव २५ शैयामा स्तरोन्नती भएको छ । बहिरंग सेवा मात्रै प्रदान गर्दै आएको चिकित्सालयलाई २५ शैयाको अन्तरंगमा विस्तार गरिएको अस्पतालले जनाएको छ । अहिले नयाँ भवन निर्माण गरी सेवा विस्तार गरिएको हो ।

अस्पतालसँगै आयुर्वेद औषधि उत्पादन केन्द्रको समेत उद्घाटन गरिएको छ । केन्द्रले हाल १० प्रकारका आयुर्वेद औषधि उत्पादन गर्न शुरु गरेको पनि उल्ल्ेख गरेको छ । चिकित्सालय र केन्द्रको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले उद्घाटन गर्नुभयो । उदघाटनका अवसरमा बोल्दै मन्त्री थापामगरले यहाँको आवश्यकता अनुसार जनशक्ति र उपकरण थप गर्दै लैजाने बताउनुभयो । यो बागमती प्रदेश सरकारको पहिलो २५ शैयाको आयुर्वेदिक चिकित्सालय रहेको भन्दै उहाँले अन्य १३ वटा जिल्लामा पनि चिकित्सालय रहेको जानकारी दिनुभयो । उहाँले यसको सेवालाई प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिदै, “यसलाई सञ्चालन गर्न तीन वटै सरकार मिलेर अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्नुभयो ।

चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालले ध्यान र आयुर्वेदमा गर्न सक्ने जति काम अझै हुन नसकेको भन्दै यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले “यस अस्पताललाई संघका तर्फबाट गर्न सकिने पहल अघि बढाइने बताउनुभयो । त्यस्तै, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले चिकित्सालय सञ्चालन गर्न पहलकदमी गरेर जनप्रतिनिधिहरुले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले भवन निर्माण भएका ठाउँमा विद्यालय, पुस्तकालय, मन्दिर रहेको चर्चा गर्दै विद्यालय र पुस्तकालय अन्यत्र सार्न नगरपालिकाबाट बजेट विनियोजन गरिएको समेत उल्लेख गर्नुभयो । संस्थालाई अन्य स्थानमा स्थानान्तरण गर्ने बिषयमा छलफल भइरहेको उल्लेख गर्दै प्रमुख सापकोटाले चिकित्सालयले स्थानीय प्रति स्वास्थ्य सचेतना बृद्धि गरेको समेत बताउनुभयो ।

कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पताल ब्यवस्थापनका लागि प्रयाप्त जग्गा उपलब्ध नभएकोमा भने चिन्ता ब्यक्त गर्नुभयो । आगामी दिनमा त्यो पनि ब्यवस्था हुदै जाने विश्वास ब्यक्त गर्नुभयो ।