मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएल सञ्चालन गर्ने बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश 

एनपीएल सञ्चालन गर्ने बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश 

न्यूजस्टोरी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश नआएसँगै क्यानलाई राहत भएको छ । जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका आमिर अख्तरले नेपाल प्रिमियर लिग नाम आफूले यसअघि नै सञ्चालन गरेको र दर्ता गरेको दाबी गर्दै सोही नाममा अर्को अर्को लिग गर्न नपाइने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले यो प्रकरणमा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

अख्तरले यसअघि नेपाल प्रिमियर लिगको नाममा क्रिकेट फ्रेन्चाइज लिग आयोजना गरेका थिए । तर, त्यसमा विवाद भएपछि उनी आफैँले अर्को संस्करण भने सो नामबाट नगरी एभरेस्ट प्रिमियर लिग नामबाट प्रतियोगिता आयोजना गरेका थिए । त्यतिबेला क्यान आईसीसीको निलम्बनमा रहेकाले क्यानबाहिरबाट यस किसिमका तीनवटा लिग हुने गरेका थिए ।

तर, क्यानको निलम्बन फुकुवा भएसँगै क्यानले आफैँ लिग आयोजना गर्ने भन्दै अन्य लिग आयोजना गर्न नपाउने निर्णय गर्‍यो । त्यसपछि ईपीएल, डीपीएल र पीपीएल हुन पाएनन् । गत वर्ष क्यान आफैँले सञ्चालन गरेको नेपाल क्रिकेट लिग पनि विवादमा आएको थियो । त्यसपछि यो वर्ष भने क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता गर्दै छ । प्रतियोगिताको धेरै काम पूरा भइसकेको छ । टिम चयनदेखि खेलाडी चयनसम्म भइसकेको छ ।