मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाई एयर एशियाले भैरहवा–बैंकक उडान थाल्यो

थाई एयर एशियाले भैरहवा–बैंकक उडान थाल्यो

न्यूजस्टोरी

काठमाडौं, १८ कार्तिक । थाई एयर एसियाले आजदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान थालेको छ । बिहान ६ बजेर ५५ मिनेटमा थाई एयर एशियाको ए–३२० जहाज चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार यो जहाज ७ बजेर ४० मिनेटमा बैंकक प्रस्थान गरिसकेको छ । भैरहवा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी र पर्यटन व्यवसायीले बिहान स्वागत गरेका थिए । थाई एयर एशियाले भैरहवाबाट हप्ताको दुई दिन उडान गर्नेछ । अब कात्तिक २३ गतेदेखि हप्तामा दुईपटक नियमित उडानको तालिका छ ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी भाडादर १२ हजार रुपैयाँ छ । थाई एयर एशियाले काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने सर्तसहित यसअघि उडान अनुमति फुकुवा गरिएको थियो ।

गएको कात्तिक ११ गते अनुमति बिना काठमाण्डौ आएको थाई एयर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । कम्पनीलाई हप्तामा काठमाण्डौबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको हो । भैरहवाको उडान बन्द गरेमा काठमाण्डौको उडान स्वतः रद्द हुने सर्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो ।