तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेंगी संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेंगी संक्रमण ह्वात्तै बढेको छ ।
स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा व्यास नगरपालिकामा १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । नगरपालिका क्षेत्रमा पछिल्लो हप्ता ६ सय ८४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । गत असोज १५ मा नगरपालिकामा ८ सय ८८ जनामा डेंगी पुष्टि भएकामा कात्तिक ३ सम्म १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।‘गत असोज दोस्रो साता परेको झरीसँगै जिल्लाको सदरमुकामस्थित व्यास नगरपालिकामा डेंगी संक्रमणको ग्राफ दैनिक बढ्दै गएको छ,’ उनले भने, ‘गत वर्ष व्यास नगरपालिका क्षेत्रमा महामारीकै रूपमा डेंगी संक्रमण फैलिएको थियो । यस वर्ष पनि पछिल्लो दुई हप्ता डेंगी संक्रमण असामान्य रूपमा फैलिन थालेको छ ।’
जिल्लामा गत असार पहिलो सातादेखि हालसम्म ४ हजार ५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने एक जना पुरुषको मृत्यु भएको छ । असार महिना लागेलगत्तै आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्रमा डेंगी संक्रमण फैलिएको थियो । दैनिक एक सय बढीको संख्यामा संक्रमण फैलिँदा जनजीवन प्रभावित हुन पुगेको थियो ।
जिल्लाका १० वटै पालिकामा डेंगी संक्रमण देखिएको छ । शुक्लागण्डकी नगरपालिकामा पनि ४ सय ४०, बन्दीपुर गाउँपालिकामा १ सय ८५, भानु नगरपालिकामा ४४, देवघाट गाउँपालिकामा ६३, भीमाद नगरपालिकामा ६१, म्याग्दे गाउँपालिकामा ४२, ऋषिङ र घिरिङ गाउँपालिकामा ४/४ र अन्य जिल्लाका २९ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।
दसैंअघि ३/४ दिन लगातार परेको झरीले गर्दा डेंगी संक्रमण फैलिएको अनुमान गरिएको दमौली अस्तालका प्रमुख परिवर्तन बरालले बताए । ‘झरीका कारण सुख्खा ठाउँमा रहेका लार्भा लामखुेट्टेमा परिवर्तन भए र तिनैको टोकाइबाट डेंगी फैलिन पुग्यो,’ उनले भने, ‘अहिले दमौली बजार क्षेत्रमा दैनिक डेंगी संक्रमितको ग्राफ बढ्दै गएको छ ।’
यस्तै व्यास नगरपालिकामा दैनिक संक्रमितको संख्या बढ्दै गएपछि नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरबासीलाई सचेत र सावधानी अपनाउन आग्रह गरेका छन् । ‘डेंगी संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु पर्छ, त्यसैले आफ्नो घर वरापरका खल्डाखुल्डीमा पानी जम्न नदिनुहोला,’ उनले भने, ‘नगरपालिकाले डेंगी संक्रमणको लक्षण देखिएकाहरूको परीक्षण र उपचारको सहज व्यवस्थापन मिलाइएको छ ।’ स्वास्थ्यमा गम्भीर समस्या देखिएमा थप उपचारका लागि स्वास्थ्य संस्थामा लैजानका लागि नगरपालिकाले एम्बुलेन्स र उपचारको व्यवस्थासमेत मिलाएको हुँदा सबै नगरबासीलाई सचेत र सावधानी अपनाउन पनि नगर प्रमुख न्यौपानेले आग्रह गरेका छन् ।
प्रतिक्रिया