मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक- प्रचण्ड

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक- प्रचण्ड

न्यूजस्टोरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् ।

माओवादी केन्द्र मिर्चैया नगर समिति सिरहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए ।

२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएको भन्दै उनले धन्यवाद दिए । अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने उनको भनाइ छ ।

संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको उनले दाबी गरे । संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको उनको भनाइ छ ।

‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ,’ प्रचण्डले भने, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौं वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ ।’