किरण कुँवर
पलेशाले यो हप्ता मात्र पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितन सफल भइन । नेपाली खेलकुदमा सबैभन्दा ठूलो सफलताको रुपमा यसलाई लिइएको छ । प्रशिक्षक कविराजले भनेजस्तै नेपाली खेलकुदमा यो ऐतिहासिक सफलता यिनै फरक क्षमता भएकी पलेशाबाट सम्भव भएको हो । जसको प्रतीक्षा झन्डै दशकदेखि नेपाली खेलकुदमा रहेको थियो । फरक क्षमता भएकी पलेशाको सफलता शृंखलाबद्ध नै छ। एकपछि अर्को ऐतिहासिक सफलतामा उनको नाम जोडिएका छन्। त्यो पनि खेल्न सुरु गरेको छोटो समयमा नै। यसै पनि नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको धेरै भएको छैन।
यसको इतिहास अन्यको तुलनामा त्यत्ति लामो छैन। सन् २०१२ देखि मात्र नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको हो। पारा तेक्वान्दोका पहिलो खेलाडी यादव कुँवर हुन्। उनै यादवले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा जितेको कांस्य पदक नै यो खेलमा नेपालको पहिलो सफलता हो। एक वर्षपछि नै रसियामा सम्पन्न पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनै यादवले रजत पदक जितेका थिए।
त्यसयता मात्र नेपाली खेलकुदमा पारा तेक्वान्दोको चर्चा सुरु भएको हो। त्यहाँबाट सुरु भएको सफलताको यात्रा पारालिम्पिकसम्म पुग्यो। यादव हाल क्यानडामा छन्। पलेशाको यो सफलताले उनी धेरै रमाएका छन्। जीवनको ठूलो सपना पूरा भएको यादव कुँवरको भनाइ छ । पारा तेक्वान्दोमा आफूले देखेको एउटा सपना पलेशाले पूरा गरेकोमा उनि निकै खुसी छन् । पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवर जो यादव कुवारकै भाइ पनि हुन् उनले पनि पलेशाले अधुरो सपना पूरा गरेकोमा खुसी ब्यक्त गर्दै पलेशालाई बधाई दिए ।
कल्याण आफैँ टोकियो पारालिम्पिकमा पलेशाको सुरुआती प्रशिक्षक थिए। त्यति बेला उनी टोकियो पदक जित्ने सपना बुन्थे। जुन, अहिले पलेशाले पूरा गरिदिएकी छन्। यी दुई दाजुभाइको जस्तै यो सपना सारा नेपालीको हो। जुन सपना यसै हप्ता पेरिस पारालिम्पिकमा पूरा भयो। झन्डै ६ दशकको ओलम्पिक यात्रामा भर्खर एक दशक मात्र पार गरेको पारा तेक्वान्दोले सार्थकता बनायो। यो सफलतामा भने सुनौला अक्षरले कुद्ने काम पलेशाले गरिन्।
सन् २०१७ देखि पारा तेक्वान्दोमा यात्रा थालेकी पलेशाले छोटो समयमा नै एकपछि अर्को ऐतिहासिक सफलता दिलाइरहेकी छन्। गत वर्ष मात्र उनले एसियाली पारा खेलकुदमा कांस्य पदक जितेकी थिइन्। जुन पदक पारा एसियाली खेलकुदमा पहिलो हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पलेशालाई स्वागत गर्ने कार्यक्रममा नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै संघर्ष गरेको धारणा व्यक्त गरे। पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूप पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ।
त्यसअघि नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा र प्रशिक्षक लामाको भव्य स्वागत गरिएको थियो। त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक लामाको भव्य स्वागत गरिएको हो।


प्रतिक्रिया