मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका मन्त्री : खगराजले नाम पठाए, ओलीले ‘फाइनल’ गरे

गण्डकीका मन्त्री : खगराजले नाम पठाए, ओलीले ‘फाइनल’ गरे

न्यूजस्टोरी

पोखरा । गण्डकी प्रदेशमा सोमबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरिएको छ। एमालेलाई सरकारमा ल्याउन आइतबारको मन्त्रिपरिषद् बैठकले २ मन्त्रालय फुटाएर हाल कायम ७ बाट ९ मन्त्रालय बनाउने निर्णयसँगै मन्त्रिपरिषद् बिस्तार तयारी गरिएको हो।

एमाले र कांग्रेसबीच सहमतिमा एमालेले ४ मन्त्रालय लिएर सरकारमा जानेछ। त्यसका लागि एमाले संसदीय दलका नेता खगराज अधिकारी काठमाडौँमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किसकेका छन्।एमाले आधिकारिक रूपमा मन्त्रीहरुको नामावली घोषणा नगरे पनि नवलपुरकी पद्या जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी छ । सोमबार दिउँसो १ बजे शपथको तयारी छ।

स्रोतका अनुसार बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बन्दैछन्। पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता अधिकारीले लिएर गएको नाममा ओलीले ‘फाइनल’ गरेर पठाएका हुन्।गुट र भूगोलसमेतलाई मिलाएर मन्त्रीहरुको नाम टुंगिएको हो। गण्डकीमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट हाबी छ। दुवै जना गण्डकीका पूर्व मुख्यमन्त्री हुन्। पार्टीको गण्डकी तथा विभिन्न जिल्लातहमा एमालेको गएको चुनावमा स्पष्ट रूपमा दुई गुट खुलेरै लागेका थिए। पर्वतका बस्याल पाका नेता हुन्। पृथ्वीसुब्बानिकटका उनले यसअघि प्रदेशसभाको बैठकमा ज्येष्ठ सदस्यको रूपमा सभाध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए। कास्कीका प्रकाशबहादुर केसी खगराजनिकटका हुन्। उनी विगतमा राप्रपा थिए। राप्रपा कोटाबाटै उनी २०७१ सालमा खाद्य संस्थानको महाप्रबन्धकसमेत बनेका थिए।

२०५४ सालमा पोखरा १२ को तत्कालीन वडाध्यक्ष बनेका उनी चार दशकदेखि निरन्तर राजनीतिमा छन्। उनी एमाले गण्डकी प्रदेश कमिटीको पूर्व सचिवालय सदस्य समेत हुन्। खगराज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दा नवलपुरकी पद्माको नाम यसअघि पनि चर्चामा थियो। तर अधिकारीले आफू निकट पुरानै दुई मन्त्री दोहोर्‍याएका थिए। २०४८ सालमा अनेरास्ववियवुबाट राजनीतिक सुरुआत गरेकी उनी गत २०७९ सालको प्रदेशसभा चुनावमा नवलपुर २ (१) बाट निर्वाचित हुन्। उनी गण्डकीका सांसदमा निकै सक्रिय मानिन्छन्। बागलुङका कृष्ण पाठक समानुपातिक कोटाबाट एमालेको सांसद बनेका हुन्। उनी पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल निकटका हुन्।

२०३१ सालमा नेकपा मसाल निकट विद्यार्थी संगठनमा लागेर राजनीति सुरुआत गरेका उनी २०४१ मा मसाल छाडेर माले हुँदै एमाले छिरेका हुन्। एमाले–कांग्रेस सहमतिमा कांग्रेसको भागबण्डामा परेका ५ मन्त्रालयबाटै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएर सघाएका एकीकृत समाजवादीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री पदबाट नहटाउने आइतबार पत्रकार सम्मेलनमा बताइसकेका छन्।

मन्त्रिपरिषद् बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको हो । हाल गण्डकीको आर्थिक मामिला मन्त्रालय डा। टकराज गुरुङ र सामाजिक विकास मन्त्रालयको जिम्मा बिन्दुकुमार थापाले लिएका छन् ।