मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुल्यो पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग

खुल्यो पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग

न्यूजस्टोरी

जुम्ला, १७ भाद्र । पहिरोले पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्णरुपमा खुलेको छ । अविरल वर्षाका कारण गएको भदौ १२ गते बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो बेलुकादेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहीखोलामा आएको पहिरो हिजो हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।

वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए । अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका गाडी गन्तव्यमा लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सडक खुलेपछि पहिलो प्राथमिकतामा स्याउ बोकेका मालवाहक ट्रकलाई प्राथमिकताका साथ पठाउने काम भएको छ । अवरुद्ध सडक खुलेपछि ताडी बसपार्कमा रोकेर राखिएका गाडीहरु पनि छोडिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।