मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपतिमा निर्वाचित

श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपतिमा निर्वाचित

न्यूजस्टोरी

श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतगणनापछि उहाँ हिजो बेलुका राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

पहिलो चरणको मतगणनामा पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए । चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

श्रीलङ्काको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको थियो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना शुरु भएको खबरमा उल्लेख छ ।

चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत पाउनुभएको थियो । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलङ्कामा १ करोड ७० लाख मतदाता छन् । यस वर्षको चुनावलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनावका रूपमा व्याख्या गरिएको छ ।

निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण चुनाव भएको पनि बताएको छ । श्रीलङ्कामा इतिहासकै खराब आर्थिक सङ्कटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन शुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि पहिलो पटक अस्ति शनिवार चुनाव भएको हो ।