मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा अर्थमन्त्री पौडेलले खोज्नुभयो जनस्तरबाट निगरानी

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा अर्थमन्त्री पौडेलले खोज्नुभयो जनस्तरबाट निगरानी

न्यूजस्टोरी

बुटवल, १५ भाद्र । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभयो ।

उनले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिंड्ने बताउनुभयो । आयोजना समयमै सक्न निर्देशन दिंदै उनले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उहाँले भन्नुभयो । उहाँले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गरे ।त्यसअघि निर्माण कम्पनीका प्रतिनिधिले सम्झौता अवधी ५ वर्ष भएपनि ३ वर्षमा काम सम्पन्न हुने गरि तयारी गरिएको जानकारी दिएका थिए ।अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।” उहाँले भन्नुभयो । १२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसावले सुविधासम्पन्न अस्पताल बन्न जरुरी रहेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमूना बनाउन चाहेको बताउनुभयो । “रुपन्देहीलाई विकासमा नमूना बनाउन सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरौं”–उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनुभयो । उहाँले आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनुभयो । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्नुपर्ने सभामुख घर्तीको भनाई छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।