काठमाडौं, १३ भाद्र । सङ्घीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार गर्ने घोषणा गर्नुभएको थियो । घोषणाको व्यावहारिक कार्यान्वयन अघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो ।
संयोजक प्रा। डा। लोचन कार्की संयोजकत्वको पाँच सदस्यीय कार्यदलले मन्त्री पौडेललाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने आवश्यकता, लागू गर्न सकिने आधार, कारण र सम्भावित प्रतिफल तथा कार्यान्वयनका लागि विधि र मापदण्डसहित प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पौडेलले अध्ययनपछि प्रतिवेदन कार्यान्वयनमा लैजाने बताउनुभयो । अहिले अस्पतालहरूमा जनशक्ति अभावका कारण सेवाको चाप बढिरहेका बेला मन्त्री पौडेलले स्वास्थ्यका कर्मचारीलाई प्रोत्साहन स्वरूप अतिरिक्त सुविधा दिएर दुई शिफ्ट मा सेवा सञ्चालन साथै थप सेवा विस्तार गर्ने लक्ष्य राख्नुभएको छ ।


प्रतिक्रिया