मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको कार्यक्षमता र नियतमा नै सुमना श्रेष्ठले उठाइन् प्रश्न

प्रधानमन्त्री ओलीको कार्यक्षमता र नियतमा नै सुमना श्रेष्ठले उठाइन् प्रश्न

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको बेथितिमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामा प्रश्न उठाएकी छिन् ।

शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुपर्छ भनेर ओलीले शिक्षा क्षेत्रमा बेथिति निम्त्याएको उनको आरोप छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सुमनाले प्रधानमन्त्रीको कार्यक्षमतासँगै नियतमा समेत प्रश्न रहेको बताइन् । ‘सानो छँदा पढेकी थिएँ, बलभन्दा बुद्धि ठूलो, तर अहिले बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भइरहेको छ,’ उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनिन् । 

ओलीको कार्यक्षमतामा समेत प्रश्न उठाउँदै उनले सोधिन्, ‘विवाद भएका विश्वविद्यालयको कुलपति को ? प्रधानमन्त्री । एउटा मन्त्रीले अर्को मन्त्रीसँग सुरक्षा माग्छ, तर मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री । दलीय राजनीतिले जर्जर बनाएको संरचनाको कप्तान को ? प्रधानमन्त्री । साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन नपाउँदा परीक्षा नियन्त्रक कुट्ने अखिलका कार्यकर्तालाई सरंक्षण गर्ने माउ पार्टीको प्रमुख को ? प्रधानमन्त्री ।  शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने सेनापति को ? प्रधानमन्त्री । प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?’

शिक्षकहरूलाई राजनीति गर्न दिने कि नदिने भन्ने विषयलाई लिएर प्रधानमन्त्री ओली र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीच पछिल्लो समय आरोपप्रत्यारोप चल्दै आएको छ ।