मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारागार पुगेपछि सहकारी ठगहरूको होश खुल्दै, सम्पत्ति बेचेर पीडितको रकम तिर्न तयार

कारागार पुगेपछि सहकारी ठगहरूको होश खुल्दै, सम्पत्ति बेचेर पीडितको रकम तिर्न तयार

न्यूजस्टोरी

काठमाडौँ । सहकारीको रकम अपचलन गरी कारागारमा रहेका आरोपीहरु सम्पत्ति बेचेर पीडितको रकम तिर्न तयार रहेको बताएका छन् । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले जेलमा रहेका आरोपीहरुसँग बयान लिने क्रममा यस्तो बताएका हुन् ।

देशका विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका ११ जना सहकारी सञ्चालकलाई सिंहदरबारमै झिकाएर बयान लिने क्रममा उनीहरुले सहकारीमा रहेको सम्पत्ति र व्यक्तिको नाममा रहेको सम्पत्ति बेचेर पीडितहरुको बचत फिर्ता गर्ने वातावरण बनाइदिन माग गरेका छन् । 

सहकारीको बचत रकम दुरुपयोगमा मुछिएका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग २६ साउनदेखि समितिले बयान लिइरहेको छ । 

यस क्रममा जेल बाहिर रहेका र जेल परेकाहरुको समेत बयान लिदा कोभिड संक्रमण र आर्थिक मन्दीका कारण सहकारी संस्थाहरु धरासायी भएको र बचत रकम फिर्ता गर्न नसकिएको बताएका थिए ।

समितिले गृह मन्त्रालयको सहयोगमा बन्दीहरुलाई कारागारबाट सिंहदरबार ल्याई बयान लिइएको थियो ।  समिति सभापति सूर्य थापाका अनुसार साउन २६ देखि समितिले बयान लिन शुरु गरेको हो, यो क्रम  अझै जारी रहेनछ ।

‘हामीले सहकारीको सम्बन्धमा छानबिन गरिरहेका छौँ, बचत फिर्ता गर्न नसकेका र डुबेका भनिएका सहकारीका सञ्चालकहरुसँग छलफल र बयान लिइरहेका छौँ’, सभापति थापाले भने ।

छानबिन समितिको कार्यविधिअनुसार पहिलो बयान नख्खु कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग समितिले लिएको छ ।   समितिले बिहीबार बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीकी क्यासियर रोशनी गुरुङ एक जनासँग मात्र बयान लिइएको थियो । 

त्यस्तै समितिले बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी पूर्वअध्यक्ष कल्पनाकुमारीसँग सोधपुछ गरेको थियो । बुधबार नै बलिदानी बचत तथा ऋण सहकारीका अजय श्रेष्ठ, प्राइम बचत तथा ऋण सहकारीका शंकर कार्की र मित्र मिलन सहकारीका रमण पौडेलसँग बयान लिएको थियो । 

उनीहरुले सञ्चालकलाई जेल हालेर बचतकर्ताको रकम फिर्ता गर्न नसकिने बरु रकम फिर्ताका लागि जग्गा जमीन र सम्पत्ति बिक्री गर्ने वातावरण बनाउनु पर्ने जिकिर गरेका थिए ।

संसदीय छानबिन समितिले केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई पनि कारागारबाटै सिंहदरबारमा झिकाएर बयान लिएको छ । शर्माकी श्रीमती गीता शर्मालाई केन्द्रीय कारागार, जगन्नाथ देवलबाट सिंहदरबारमा ल्याएर सोधपुछ गरिएको हो । 

छानबिन समितिले २६ साउनमै नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग बयान लिएको थियो ।  उनलाई नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो । गत शनिबार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग बयान लिएको थियो । 

समितिले २८ साउनमै कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग पनि बयान लिएको थियो ।  उनलाई डिल्लीबजार कारागारबाट समितिको बैठकमा ल्याएर बयान लिएको हो । साउन २८ गते समितिले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङलाई सिंहदरबारमा बयान लिएको थियो । 

साउन २८ गते समितिले आइडिया यमूना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी) सँग बयान लिएको थियो ।  साउन २९ मा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेललाई लिएको थियो ।