सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो । २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ ।
सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिए ।


प्रतिक्रिया