चितवन, २१ साउन । चितवनको नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । हिजो दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि बेलुकी अबेर मात्रै बाघलाई बेहोस बनाउने सुई हानेर अर्थात डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
नारायणगढको मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी डाक्टर डा।विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।
बाघले हिजो बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रतिक्रिया