काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित प्रख्यात मर्दी हिमाल आधारशिविरमा मानव अवशेष फेला परेको छ। माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले साउन १९ गते साँझ मानव अवशेष भेटिएको बताए। स्थानीय बासिन्दाले अवशेष देखेपछि खबर गरेका थिए।
भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्ने विषयमा प्रहरी, स्थानीय प्रशासन र गाउँपालिकासँग छलफल भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए। मानव अवशेषसँगै एउटा आइफोन पनि भेटिएको उनले बताए।
गत पुस १३ गते मर्दी पदयात्राका क्रममा स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हाइक्याम्पबाट हराएका थिए। उनकै अवशेष हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ।
पदमार्गको हाइक्याम्पबाट मर्दी आधारशिविरतर्फ जानेक्रममा मिचल हराएका थिए। त्यतिवेला खोजी गरिएको भए पनि भेटिएका थिएनन्।


प्रतिक्रिया