काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन्।
राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाको आरोप छ। पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाइराखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामीले राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत उनले स्पष्ट पारे।राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको, परिवर्तन पक्षधर नै भएको तर निरन्तरता सहितको परिवर्तन जरुरी भएको समेत थापाले बताए।
कुनै पनि देशले आफ्नो धर्म, संस्कृति, मूल्य मान्यताको रक्षा बिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधिनताको रक्षा नहुने उनकाे दाबी थियो।


प्रतिक्रिया