काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई कमी कमजोरी पाइएले खरो टिप्पणी गर्ने घोषणा गरेका छन्।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा धारणा राख्दै शर्माले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमी कमजोरी भए प्रधानमन्त्री, मन्त्रीहरुबारे संसद र बाहिर खरो टिप्पणी गर्ने बताएका हुन्।
महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए।
उनले भने, ‘शुभकामना सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदैगर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरुको बारेमा पनि सार्वजनिक रुपमा पनि, संसदमा पनि खरो ढंगले उभिने अभिव्यक्ति राख्न चाहन्छु।’
सरकारका कमी कमजोरीको खरो टिप्पणी गर्ने अभिव्यक्ति संसदबाटै दिएर कांग्रेसको एउटा खेमाले ओली नेतृत्वको सरकारको गलत कामको भारी नबोक्ने प्रष्ट सन्देश दिएको छ। उनले दुई ठूला दल मिलेर बनेको सरकारलाई असफल हुनबाट बचाउनु पर्ने बताए। त्यसका लागि सबैका कुरा सुन्ने र अरुको विचारको सम्मान गर्ने वातावरण हुनुपर्ने बताए।
अघिल्लोपटक कांग्रेस विपक्षीमा हुँदा सहकारी छानबिनका लागि समिति बनाउन डेढ महिना लागेको स्मरण गर्दैै प्रतिपक्षीले उठाएका जायज मागलाई तत्कालै सम्बोधन गर्न आग्रह गरे।दलहरु जोसँग मिलेर पनि सरकार र गठबन्धन बनाउ सफल भए पनि टिकाउन नसकेको भन्दै त्यसतर्फ सोच विचार गर्न सुझाव दिए। उनले भने, ‘हामी जो जोसँग पनि मिल्न सक्छौँ। सरकार बनाउन सक्छौँ। तर टिक्न सक्दैनौँ। यसतर्फ दुई ठूला दलले ध्यान दिन आवश्यक छ।’
माओवादीसँग मिलेर सरकार बनाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको एउटा निर्णयलाई स्वीकार गर्न नसक्दा सरकारबाट बाहिरिनु परेको बताए। दाहालले आउँदो चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने निर्णयलाई सम्मान गरिदिएको भए सरकारले निरन्तरता पाउने स्मरण गर्दै हालका प्रधानमन्त्री ओलीलाई अरुको निर्णयलाई सम्मान गर्न सुझाव दिए।
शर्माले बुँदागत रुपमा ११ बुँदामा सुझाव दिए।
उनले ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिनै पर्ने दायित्व रहेको स्मरण गराए। प्रधानन्त्री स्वयम्ले विश्वासको मत माग्ने क्रममा जनाएको सुशासनको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने उल्लेख गरे। अहिलको सरकार दुईवटा फाइलन बन्द गर्न बनेको भन्ने गलत भाष्य निर्माण भइरहेको अवस्थामा त्यसलाई चिर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो।
शर्माले भने, ‘गरिबन्धु र भुटानी शरणार्थी प्रकरणको फाइल बन्द गर्न यो सरकार बनेको भनेर संसदको रोष्ट्रमबाटै कुरा उठेको छ। यसलाई सरकारले रियाक्सनबाट होइन, एक्सनबाट जवाफ दिनु आवश्यक छ।’ महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे।
सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताउनु भयो ।
उनले भने, ‘सरकारमा गएर कुरा बढी भयो वा काम बढी भयो? एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्छ । म सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको यो सरकारलाई सफलताको शुभकामना दिन चाहन्छु । दुईटा दलले मिलेर बडा जिम्मेवार भएर आपसका विमतिहरुलाई आफ्नै ढंगको छलफल र विमर्शबाट स्वीकारेर, यसलाई सुरक्षित गरेर हामी अगाडि बढ्दा सम्बोधन गर्न सक्नुछ–आम नेपाली नागरिकमा जे जति प्रश्न उब्जिएका छन्। ती प्रश्नहरुलाई हल गर्ने सामथ्र्य राख्नुछ । लामो संघर्षबाट आएका दलहरुले त्यो सामथ्र्यलाई पूरा गरेर देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्न सक्नेछन्।’


प्रतिक्रिया