ढाका । बंगलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो ।
विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि खासै ठूला झडपका घटना भएका छैनन् ।
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्यांकमा उल्लेख छ । हजारौँ सैनिकहरू अझै पनि देशका विभिन्न सहरहरूमा गस्ती गरिरहेका छन् र अझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् ।
हसिनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ ।


प्रतिक्रिया