काठमाडौँ ।नेकपा (एमाले) ले मिति तोक्न बाँकी जिल्ला अधिवेशन आगामी कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ। गत असार २६ गते बसेको पार्टी सचिवालयको बैठकले बाँकी रहेका जिल्ला कमिटीका अधिवेशन आगामी कात्तिकभित्र गरिसक्न निर्देशन दिएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।
उनकाअनुसार एमालेमा भूगोल र गैरभूगोल गरी ८८ वटा जिल्ला कमिटी छन्। ७७ वटा भूगोल जिल्ला कमिटी छन्। युवा–विद्यार्थी, उद्योग व्यवसाय, मजदुर र पेशागत जिल्ला कमिटी गरी चारवटा गैरभूगोल जिल्ला कमिटी छन्। त्यस्तै सात वटा प्रदेश सम्पर्क–समन्वय कमिटीलाई पनि जिल्ला कमिटीकै हैसियत प्रदान गरिएको उनले बताए। ढुंगेलले कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम जिल्ला कमिटीको अधिवेशन बाँकी रहेको बताए।
मधेसको सप्तरी, सिारहा, धनुषामा अधिवेशन भएको छैन। गण्डकीको मनाङ, कर्णालीको डोल्पा, सुदूरपश्चिमको डोटी, अछाम, बझाङ र विशेष क्षेत्रअन्तर्गत युवा–विद्यार्थीको अधिवेशन हुन बाँकी रहेको ढुंगेलले बताए। ‘यी जिल्ला कमिटीसँगै पालिका र वडा तहका अधिवेशन पनि कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन गएको छ,’ उनले भने। एमालेमा २२ जनसंगठन रहेका छन्। सबै जनसंगठनको केन्द्रीय तहको अधिवेशन सम्पन्न भइसकेको ढुंगेलले बताए। ठूला जनसंगठन, विशेषतः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ, अखिल नेपाल महिला संघको तहगत कमिटीहरूको पनि अधिवेशन सम्पन्न भइसकेको उनले बताए।


प्रतिक्रिया